- शैक्षिक संसार

अपडेट


Thursday, January 23, 2020

शुल्कवृद्धिविरुद्ध रिले अनसन


Mahindra
मकवानपुर – जिल्लाको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस मकवानपुर बुहुमुखीका विद्यार्थी शुल्कवृद्धिको विरोधमा १६ दिनदेखि रिले अनसनमा बसेका छन्। क्याम्पस सञ्चालक समितिको पुस २० को बैठकले शुल्कवृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन्।undefined
सञ्चालक समिति र क्याम्पस प्रशासनले वार्ताको पहल नगरेका कारण समस्या थपिएको स्ववियु सभापति कुमार केसीले बताए। ‘पुस–माघको चिसोमा विद्यार्थी अनसन बसेको १६ दिन बित्दा पनि शुल्कवृद्धि निर्णय फिर्ता लिन क्याम्पस तयार देखिएन,’ उनले भने।
एकैपटक ६५ प्रतिशतसम्म मासिक शुल्कवृद्धि गर्दा विद्यार्थीलाई मार परेको भन्दै क्याम्पस लेखा समितिले तत्काल शुल्क घटाउन दुई साताअघि सञ्चालक समिति र क्याम्पस प्रशासनलाई लिखित निर्देशन दिएको थियो। तर, त्यसको सुनुवाइ नभउको लेखा समितिका अध्यक्ष हरि हुमागाईंले बताए।
शुल्कवृद्धि फिर्ताको माग गर्दै स्ववियु, नेविसंघ, अनेरास्ववियुलगायत विद्यार्थी संगठनले क्याम्पसमा आन्दोलन चर्काएका छन्।
विद्यार्थीको मासिक शैक्षिक शुल्कमा ६५ प्रतिशत र भर्नामा सय प्रतिशत वृद्धि गर्ने निर्णय व्यावहारिक नभएको लेखा समितिको ठहर छ। ६५ प्रतिशतसम्म वृद्धि गरिएको शुल्क ३० प्रतिशतभित्र कायम गर्न लेखा समितिका अध्यक्ष हुमागाईंले लिखित निर्देशन दिएका थिए। ‘हामीले मासिक शुल्क र भर्ना शुल्क ३०–३० प्रतिशतमा सीमित गरी तत्काल कार्यान्वयन गर्न लिखित सुझाव दिएका छौं,’ उनले भने। प्रत्येक वर्ष शुल्कमा पाँच प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेसँगै विद्यार्थीले थप आन्दोलित भएका हुन्।
मासिक र भर्ना शुल्कवृद्धि निर्णय फिर्ता नभएसम्म अनसन जारी रहने स्ववियु सचिव आकाश अधिकारीले बताए। उनले भने, ‘शुल्कवृद्धिले चार हजारभन्दा बढी विपन्न विद्यार्थीलाई धेरै असर गरेको छ, त्यसैले आन्दोलनको विकल्प छैन।’
सात वर्षदेखि शुल्कवृद्धि नगर्दा क्याम्पस घाटामा सञ्चालन भइरहेको भन्दै सञ्चालक समितिले शुल्कवृद्धि गर्नुपरेको जनाएको छ। क्याम्पस वार्षिक रुपमा चार करोड २० लाख रुपैयाँ घाटामा सञ्चालन भएको सञ्चालक समितिको दाबी छ। क्याम्पसका शिक्षक, कर्मचारीको दुईपटक तलबवृद्धि भएपछि शुल्कवृद्धि गरेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले बताए। ‘सेमेस्टरमा पढ्ने विद्यार्थीलाई शुल्कवृद्धि गरेका छैनौं, त्यसबाहेकका विद्यार्थीको मात्र वृद्धि भएको हो,’ उनले भने, ‘आठ वर्षमा एकैपटक बढाउँदा धेरैजस्तो देखिएको मात्र हो, त्यो समयसापेक्ष छ।’ क्याम्पसमा करिब पाँच हजार पाँच सय विद्यार्थी अध्ययनरत छन्।

No comments:

Post a Comment