विद्यालय खोल्ने विकल्प खोज्दै सरकार - शैक्षिक संसार

अपडेट


Sunday, May 24, 2020

विद्यालय खोल्ने विकल्प खोज्दै सरकार



विद्यालय खोल्ने विकल्प खोज्दै सरकार तत्काल नखोले साना विद्यालय बन्द हुने अवस्थामा

 १२ जेष्ठ २०७७, सोमबार



ईश्वरराज ढकाल, काठमाडौं । 
लकडाउन लम्बिन सक्ने संकेत देखिएपछि सरकारले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू गरेको छ ।
त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायको संस्था नेपाल नगरपालिका महासंघ, प्रदेश सरकारअन्तर्गत समाजिक विकासमन्त्री, सचिवलगायत सँग छलफल शुरू गर्नुभएको छ ।
स्थानीय तहका जनप्रतिनिधि र महासंघका अधिकारीले सुरक्षतिरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा संघ सरकारले सहमति दिनुपर्ने जनाएका छन् । मन्त्रालयले अनलाइनमार्फत कुराकानी गर्दा अधिकांश नगरपालिका र गाउँपालिकाले सुरक्षितरूपमा विद्यालय खोल्ने तयारी गरिरहेका छन् ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउन लम्बिँदै गए थोरै विद्यार्थी भएका र गाउँ नै सेल्फ क्वारेन्टाइन जस्तो भएका गाउँका विद्यालय सञ्चालन गर्न सकिने विषयमा छलफल शुरू गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘भौतिक दूरी कायम गर्ने गरी कसरी सुरक्षितरूपमा विद्यालय खुला गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।’
मन्त्रालयले सबै शिक्षकको पीसीआर परीक्षण गर्ने, विद्यालयमा सेनिटाइजर र थर्मल गन प्रयोग गरी ताप मापन गर्ने र विद्यार्थीलाई कक्षाकोठामा दूरी कायम गर्ने गरी बस्ने वातावरण मिलाएर मात्र विद्यालय खोल्ने तयारी गरिरहेको छ ।
स्थानीय शिक्षकले पढाउने थोरै विद्यार्थी भएका विद्यालयमा कसरी पढाउने वातावरण कायम गर्न सकिन्छ भन्ने विषयमा अध्ययन शुरू गरेको मन्त्रालयले यो महिनालगत्तै ठोस निर्णय गर्ने तयारी गरेको छ ।
जनक शिक्षा सामग्रीले स्थानीय तहमार्फत विद्यार्थीको हातमा पुस्तक पुर्याइसकेको अवस्थामा विद्यार्थीलाई विद्यालय आउने वातावरण तयार गर्न आंशिकरूपमा खुला गर्नुपर्ने देखिएको मन्त्रालयका अधिकारीको भनाइ छ ।
मन्त्रालयले चरणबद्धरूपमा छलफल गरी तयार गरेको प्रतिवेदन कोभिड–१९ उच्चस्तरीय समितिलाई बुझाएपछि सो समितिको निर्णयको आधारमा विद्यालय खोल्ने विषयमा मन्त्रालयले निर्णय गर्नेछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले जेठ १४ गतेभित्र ठोस निर्णय दिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘धेरै दिन विद्यालय बन्द गरेर राख्ने अवस्था आउँदैन सरकारले विकल्प खोज्नैपर्छ ।’ लकडाउनका कारण चैत ६ गतेदेखि विद्यालय बन्द भएपछि समस्या पर्दै आएको छ ।
निजी विद्यालयले यही अवस्था भए असारदेखि शिक्षकलाई तलब दिन समस्या पर्ने जनाएको प्याब्सन र एन–प्याब्सनले सरकारले तत्काल विद्यालय खोल्ने वातावरण तयार गर्न आग्रह गरिसकेको छ ।
हिसानका अध्यक्ष रमेश सिलवालले दुई महिनासम्म विद्यालय बन्द हुँदा समस्या भएको बताउनुभयो । उहाँले निजी विद्यालयको पछिल्लो अवस्थाका बारेमा आइतबार शिक्षामन्त्री पोखरेलसँग भेट गर्नुभएको थियो ।
भेटको अवसरमा मन्त्री पोखरेलले लामो समयसम्म विद्याल बन्द गर्दा समस्या परेको स्वीकार्दै, विकल्पका बारेमा छलफल भइरहेको बताउनुभएको सिलवालले जानकारी दिनुभयो ।
उहाँले निजी विद्यालय बन्द हुने अवस्थाबाट जोगाउन सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने र हालको ब्याजदर घटाउन पहल गर्नुपर्ने बताउनुभयो ।
निजी विद्यालयहरूले अर्थमन्त्री डा. युवराज खतिवडासँग समेत भेट गरी प्याकेज घोषणा गर्न र सहुलियत ऋणको व्यवस्था गर्न आग्रह गरिसकेका छन् । उता शिक्षक–कर्मचारीको तलब, घरभाडा दिन नसक्ने अवस्थामा पुगेका विद्यालय बन्द हुने अवस्थामा आएको निजी विद्यालय सञ्चालकको भनाइ छ ।
असारदेखि शुल्क लिन नसके धेरै विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । कतिपय विद्यालयका घरधनीले विद्यालय सञ्चालकसँग घरभाडा माग गर्दैै तत्काल भाडा नदिए घर छाड्नसमेत चेतावनी दिन थालेका विद्यालय सञ्चालकको भनाइ छ ।

No comments:

Post a Comment