- शैक्षिक संसार

अपडेट


Friday, May 28, 2021

 

विद्यालय शिक्षा : परीक्षाको अन्योल

गतवर्ष जस्तै यो वर्ष पनि परीक्षाबारे केही उल्लेखनीय परिवर्तन गरिएन र एक वर्षका लागि मात्र भनियो भने हाम्रो परीक्षा प्रणालीमा सुधारको अवसर गुम्नेछ । यस्ता अवसर भविष्यमा कमै मात्र आउन सक्छन् ।


कोभिड–१९ महामारीले गतवर्ष नै नराम्रोसँग प्रभावित भएको हाम्रो शिक्षा प्रणालीले यो वर्ष पनि उस्तै नियति भोग्दै छ । गतवर्ष सबैभन्दा ठूलो चुनौती बनेको विद्यालय तहको कक्षा १० र १२ का परीक्षाहरू अहिले पनि उस्तै अन्योलमा छन् ।

हाम्रो दूरदर्शिताको अभावले गर्दा यो अवस्था आइपुग्यो भन्नु अन्यथा नहोला । एक वर्षयता जेनतन विद्यार्थीलाई लब्धाङ्कपत्र उपलब्ध गराउनेबाहेक यी परीक्षा सञ्चालनका अन्य उपायहरूबारे छलफल, बहस गर्ने विषय हाम्रो प्राथमिकतामा परेन ।

शैक्षिक सत्रको समय तोक्न हतार गऱ्यौं तर सिकाइ उपलब्धि कसरी हासिल गराउनेभन्नेतर्फ सोच्दै सोचेनौँ । लामो समय रोकिएको शिक्षण सिकाइलाई निरन्तरता दिने सवालमा अघिल्लो वर्ष सामान्य अवस्थामा गर्नेभन्दा बढी प्रयास नै गरेनौं । सिकाइका लागि अवलम्बन गरिएका वैकल्पिक विधिहरूले के कति सिकाउन सके ? के कति प्रभावकारी रहे ? र के कस्ता कमजोरी थिए जुन सुधार गर्न जरुरी थियो, हामीसँग कुनै विश्वासिला सूचनाहरू छैनन् यतिबेला ।

गतवर्ष अधिकांश पालिकामा ६ महिनाभन्दा बढी समय वास्तविक पठनपाठन हुन सकेन । कतिपय शहरीक्षेत्रमा १० महिनामामात्र विद्यालय खुले तर हामीले कोभिडले कुनै प्रभाव नपारेको शैलीमा परीक्षा गरी शैक्षिकसत्र सकाउने तयारी गरेका थियौं तर त्यो पनि फेरि दोस्रो लहरले सहज हुन दिएन ।

शैक्षिकसत्रलाई दिनमा गणना गर्ने कि सिकाइ उपलब्धि सुनिश्चित गर्ने भन्ने विषयमा कुनै छलफल भएन । गतवर्ष् असार १ बाट वैकल्पिक विधिबाट पठनपाठन गर्नु भनियो, सोहीअनुसार जेठमा शैक्षिकसत्र सकाउने घोषणा गरियो । अब फेरि गतवर्षकै शैक्षिकसत्र लम्बाउने कुरा सान्दर्भिक हुने कुरा भएन । त्यसैले फेरि असार १ बाट नयाँ शैक्षिकसत्र शुरु हुनेछ र वैकल्पिक सिकाइको अभियान पनि शुरु गर्नैपर्छ । हुनत यसलाई अहिले बढिरहेको कोभिड सङ्क्रमणले केही असर गर्न पनि सक्छ । आशा गरौं, अब केही दिनमा कोभिड केहीहदसम्म नियन्त्रण पनि होला ।

विगतको समिक्षाले समाधानका उपाय त दिंदैन तर अझै पनि भविष्यमा हामीले के गर्नुपर्छ भन्ने जानकारीका लागि विगत हेर्नु महत्वपूर्ण हुन्छ । जतिबेला विद्यालयहरु पुन: सञ्चालनमा आउँदै थिए, त्यतिबेलादेखि नै हामीले भविष्यमा फेरि यस्तै अवस्था आउन सक्छ, विद्यार्थीको सिकाइलाई कक्षाकोठामा आधारित परीक्षणबाट प्रमाणीकरण गर्दै जाउँ भन्ने विचार नै गरेनौं । पुरानै ढाँचाका त्रैमासिक परीक्षा सञ्चालन गर्नेभन्दा अन्य विधि र पद्धतिमा ज्यादै थोरै विद्यालय र शिक्षकहरूले ध्यान दियौं । परीक्षा सञ्चालनको जिम्मेवारी भएका निकायलाई गतवर्षको अवस्था आए के गर्ने भन्ने सोच्ने फुर्सद नै भएन । प्राथमिकतामा प्रश्न बनाउने, छाप्ने र पोका बनाएर केन्द्रसम्म पुऱ्याउने काम थियो त्यसमध्ये प्रश्न केन्द्रमा पुऱ्याउन मात्र बाँकी रह्यो ।

कोभिड सङ्क्रमणको यस जटिल घडीमा कक्षा १० र १२ को परीक्षाका सवालमा वैकल्पिक उपाय खोज्नु अनिवार्य हुन्छ । कक्षा १० मा गतवर्ष अवलम्बन गरिएको विधिमा धेरै कमजोरी रहे र आलोचना पनि भयो । त्यसमा सुधारका पक्षहरू पनि छन् । त्यसलाई सुधार गर्ने वा अन्य विकल्पमा जाने भन्ने अहिलेको चर्चाको विषय भएको छ । तर यो वर्ष पनि परीक्षाबारे केही उल्लेखनीय परिवर्तन गरिएन र एक वर्षका लागि मात्र भनियो भने हाम्रो परीक्षा प्रणालीमा सुधारको अवसर गुम्नेछ र यस्ता अवसर भविष्यमा कमै मात्र आउन सक्छन् ।

कक्षा १० को परीक्षालाई कक्षा ९ को जस्तै गरी विद्यालयलाई जिम्मा दिनेबारे धेरै बहस, चर्चा र छलफल भइरहेको देखिन्छ । यस्तो छलफल नीतिनिर्माण र निर्णय गर्ने पदाधिकारीको तहमा भन्दा पनि प्राज्ञिक तह र सामाजिक सञ्जालमा बढी देखिन्छ । विद्यालय शिक्षा कक्षा १२ भएकाले कक्षा १० को परीक्षालाई विद्यालयलाई जिम्मा दिनु सैद्धान्तिक रुपमा कुनै समस्या छैन । तर योसँग जोडिएका अन्य थुप्रै शैक्षिक, प्रशासनिक र सामाजिक पक्षहरू पनि छन् । कक्षा १० सम्म पढ्ने विषयमा ठूलो भिन्नता हुन्न तर कक्षा ११ बाट कक्षा १० को नतिजाकै आधारमा विषय छनोट गर्ने अवस्था छ । केही प्रतिशत विद्यार्थीको लागि यो आफ्नो औपचारिक शिक्षाको अन्तिम कक्षा हुने भएकाले बाह्य निकायबाट प्रमाणित भएको प्रमाणपत्र पनि आवश्यक हुन्छ ।

संसारमा बाह्य निकायबाट सञ्चालन हुने सार्वजनिक परीक्षाको महत्व र अर्थ विद्यालयका परीक्षाको भन्दा भिन्न हुन्छ । त्यस्तै लोकसेवा आयोगलगायत सार्वजनिक र निजीक्षेत्रमा कक्षा १० जागिरका लागि न्यूनतम योग्यता तोकिएको सन्दर्भमा पनि यो बाह्य निकायबाट सञ्चालन हुनु आवश्यक मानिन्छ । विद्यालय शिक्षा कक्षा १२ हुँदैमा सार्वजनिक परीक्षा १२ मा मात्र हुनुपर्छ वा तल पनि हुनुपर्छ भन्ने विषयमा हरेक देशमा आआफ्नै अभ्यास छ । संसारका धेरै देशमा २/३ वटा सार्वजनिक परीक्षाहरू हुन्छन् । हाम्रोमा परीक्षालाई बुझ्ने, पढाइभन्दा बढी चिन्ता परीक्षाको हुने र परीक्षाको नतिजालाई नै ठूलो मान्ने संस्कारले पनि यसमा समस्या सिर्जना गरेको छ । सार्वजनिक परीक्षा र विद्यालयमा आधारित परीक्षाको आफ्नै विधि र प्रक्रिया तथा त्यसको सान्दर्भिकता हुनेगर्छ ।

परीक्षा नै भएन भन्ने चिन्ता व्यक्त गरिन्छ । परीक्षा नलिई कक्षा चढाएको गुनासो गरिन्छ । विद्यालयमा परीक्षा थोरै भएको गुनासो गर्ने वर्ग पनि छ । यो अर्थमा हाम्रो शिक्षा प्रणालीमा परीक्षाका सामाजिक, सांस्कृतिक पक्षहरू पनि जोडिएका छन् । विद्यालय र शिक्षकमा परीक्षा भने मात्र पढ्छन् नत्र पढदैनन् भन्ने बुझाइ छ, जुन आंशिक सत्य पनि छ । यी विभिन्न परिवेशले हामीले विद्यालय तहका परीक्षामा परम्परागत ढाँचा छोड्न सकेका छैनौ । बुझ्न पनि खोजेका छैनौ र अभिभावकलाई बुझाएका पनि छैनौ । कक्षा १० को परीक्षा नभए के हुन्छ र भए के हुन्छ भन्ने विषयमा छलफल नै भएको छैन । केवल परीक्षा कसरी गर्ने भन्ने चिन्तनमा छौं हामी ।

कक्षा १० को सन्दर्भमा भविष्यमा गर्ने सुधार र परिवर्तनका लागि तयार भएर, प्रदेशहरूलाई क्षमता र संरचनासहित जिम्मा लगाएर तथा सबै कानुन तथा नीतिहरूमा परिवर्तन गरेर यो वर्षका लागि मात्र विद्यालयहरूलाई नै प्रमाणित गर्ने जिम्मा दिनु नै बढी व्यवहारिक देखिन्छ । तर त्यो नतिजा प्रमाणित गर्ने विधि गतवर्षको भन्दा फरक गर्न सकिन्छ । यो वर्ष गतवर्षजस्तो विद्यालयसँग सबै त्रैमासिक परीक्षाको उपलब्धि पनि छैन । धेरै समय आफैले पढाउन पनि पाएका छैनन् । र गतवर्षको विधिमा धेरै समस्या देखिएका छन् ।

विद्यालयलाई अङ्क पठाउनमात्र नभनौं । दुई/चारवटा परीक्षाका वैकल्पिक विधि तोकिदिऊँ । जसले जसरी सम्भव हुन्छ त्यसरी नै परीक्षा लिन्छन् । आवश्यकताअनुसार प्रश्नका नमूनाहरू उपलब्ध गराऊँ अथवा विद्यालय आफैले बनाउन सक्छन् । घरघरमा परीक्षा लिने र अभिभावकले नै त्यसको अनुगमन गर्ने एउटा पद्धति हुनसक्छ । जहाँ र जसलाई सम्भव छ त्यसले अनलाइन परीक्षा दिन सक्छन् । परीक्षाको समयलाई लचकता दिएर वैयक्तिकरुपमा फरकफरक परीक्षा लिन सकिन्छ । मौखिक अन्तरवार्ता वा फोनबाट खासखास विषय र सिकाइका सन्दर्भमा पनि परीक्षा लिन सकिन्छ । विधिहरूको सूची दिऊँ, विद्यालयले आफू अनुकूल कुनै पनि विधिको प्रयोग गर्छन् । कुनै न कुनै माध्यमबाट भए पनि छोटो परीक्षा लिएरमात्र अङ्क पठाउन भनौं । यसले दोहोरो विश्वास कायम गर्छ र गतवर्षको जस्तो अवस्था सिर्जना हुन दिंदैन ।

कक्षा १२ को परीक्षाका सन्दर्भमा समेत गतवर्ष एउटा अभ्यास भएको छ तर फेरि यो वर्ष कक्षा ११ को आधारमा अङ्कभार प्रदान गर्नु विश्वसनीय र वैध हुँदैन । बोर्ड आफैले त्यो परीक्षा लिएको छैन । यो अवस्थामा सबैभन्दा पहिला यो समय परीक्षा बोर्ड कक्षा १२ को हकमा अनलाइन परीक्षाको तयारीमा लाग्नु आवश्यक छ । कक्षा १२ मा ६० देखि ७० प्रतिशत विद्यार्थी तथा विद्यालयले अनलाइनबाट परीक्षा दिन सक्छन्, बाँकी विद्यार्थीका लागि अनलाइनका लागि साधनस्रोत उपलब्ध गराएर परीक्षा लिन सकिन्छ अथवा उनीहरुका लागि फरक रणनीति अपनाउन पनि सकिन्छ । विषयगतरुपमा प्रश्नको ठूलो प्रश्नबैङ्क तयार गरी त्यसबाट विद्यार्थीले आफै अनलाइनमा प्रश्न लिने र त्यसबाट परीक्षा दिने विधि अवलम्बन गर्न सकिन्छ । परम्परागत परीक्षाको ढाँचामा परिवर्तन ल्याउने अवसर छ, तर वर्षभरि पुराना प्रश्नको सेट पढेर जाँचको तयारी गरेका विद्यार्थीलाई नयाँ ढाँचाको प्रश्नबाट परीक्षा लिंदा त्यसको असर नकारात्मक पनि पर्न सक्छ ।

अनलाइन परीक्षाका पनि केही जटिलता पक्कै छन् तर कम्तीमा त्यसलाई शुरु गरेर त्यसबाट सिकाइ गर्दा भविष्यका लागि तयार हुन पनि सकिन्छ । यसैगरी पहिलो चरणमा विज्ञान विषय पढ्ने विद्यार्थीका लागिमात्र अनलाइन परीक्षा लिएर त्यसपश्चात् अन्य विषयहरू अध्ययन गरेका विद्यार्थीको परीक्षा लिन थप रणनीति र विधिहरु तय गर्न पनि सकिन्छ । कक्षा १० को परीक्षाका लागि कक्षा ११ को शैक्षिकसत्र कहिलेबाट शुरु हुने भन्ने विषयले महत्वपूर्ण अर्थ राख्छ जुन विषय हाम्रो आफ्नै नियन्त्रणमा छ । तर कक्षा १२ को सवालमा भने उच्च शिक्षाका हरेक विश्वविद्यालय र विदेशी सन्दर्भसमेत जोडिने भएकाले कक्षा १२ को परीक्षालाई प्राथमिकता दिनु जरुरी हुन्छ ।

अहिले धेरैको ध्यान कक्षा १० मा देखिन्छ, तर कक्षा १० भन्दा बढी महत्वपूर्ण कक्षा १२ हो । गतवर्ष कक्षा १२ को परीक्षा र नतिजा ढिला भएकाले धेरै विद्यार्थीको एकवर्ष खेर गएको छ । चिकित्सा शिक्षाका प्रवेश परीक्षासमेत हुन सकेन । यस विषयमा ध्यान जानु जरुरी छ । परीक्षा प्रणालीमा सुधार गर्ने अवसरलाई सुदपयोग गर्दै विद्यालय र शिक्षकहरूलाई जवाफदेही र जिम्मेवार बनाउँदै परीक्षाको अन्योल हटाउनु अहिलेको प्राथमकि काम हो ।

परीक्षाका विश्वसनीय, वैध र धेरै प्रकारका विधिहरू प्रयोग गर्न सक्ने जिम्मेवारी विद्यालयहरूलाई दिने र थोरै मात्र जवाफदेही हुने प्रणालीको विकास गर्न सकियो भने भविष्यका लागि समेत उपयोगी हुनसक्छ ।

प्रकाशित : जेष्ठ १४, २०७८ साभारः कान्तिपुर

No comments:

Post a Comment