शैक्षिक क्षेत्र डामाडोल - शैक्षिक संसार

अपडेट


Saturday, August 7, 2021

शैक्षिक क्षेत्र डामाडोल

 

शैक्षिक क्षेत्र डामाडोल

शैक्षिक क्षेत्र डामाडोल

कोरोना महामारीका कारण झन्डै डेढ वर्षदेखि ताला लागेको काठमाडौं महानगरपालिका बौद्ध, रामहिटीस्थित नवजागृति माविको शनिबार साँझ लिइएको तस्बिर । तस्बिर : दीपेन श्रेष्ठ

author-image

सुरेन्द्र काफ्ले
समाज

 २४ साउन २०७८ ०६:५४:००

काठमाडौं : कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्राय: छ। कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। 

annapurna post

विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन्। २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द गरिएका थिए। 

पहिलो लहरको संक्रमण कम भएपछि खुल्न थालेका विद्यालय, कलेज दोस्रो लहरसँगै पुन: बन्द भए। पहिलो र दोस्रो लहरको बीचमा करिब ३ महिना शैक्षिक क्षेत्र खुलेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले जनाएको छ। तेस्रो लहरले ढोका ढकढक्याउँदै छ। यसले अब शैक्षिक संस्था कहिले खुल्ने भन्ने अन्योल कायमै छ। कोरोना संक्रमण नभेटिएका पहाडी जिल्लाका केही स्थानमा फाटफुट मात्रै विद्यालय सञ्चालनमा रहेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल बताउँछन्।  

मुलुकभर ३५ हजार ५ सय २० विद्यालय छन्। तीमध्ये २८ हजार ८ सय ३३ सामुदायिक र ६ हजार ६ सय ८७ संस्थागत छन्। सामुदायिकमा ५५ लाख ८७ हजार ८ सय ८४ र २५ लाख ४४ हजार ५ सय ५१ गरी ८१ लाख ३२ हजार ४ सय ३५ विद्यार्थी छन्। 

विकल्पका रूपमा अनलाइनमार्फत पठन–पाठन गरिए पनि प्रभावकारी बन्न नसकेको शिक्षाविद्, अभिभावक र सरोकारवाला बताउँछन्। १५ प्रतिशत विद्यार्थीले मात्रै अनलाइनमार्फत पठन–पाठनको सुविधा पाएका जनाइएको छ। अर्कोतर्फ अनलाइन कक्षाका नाममा बालबालिका कम्प्युटर, मोबाइलजस्ता विद्युतीय उपकरणको लतमा पर्न थालेको अभिभावकको गुनासो छ। स्रोत केन्द्रका सूचना अधिकारी दाहाल धेरै वैकल्पिक विधि अपनाइएको बताउँछन्। रेडियोबाट, टेलिभिजनबाट, स्कुल घुम्ती केन्द्र सञ्चालन गरेर, सार्वजनिक स्थलमा भौतिक दुरी कायम गरेर पठन–पाठन गराउनेलगायत बैकल्पिक विधि अपनाइएको उनको भनाइ छ। 

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा सबैभन्दा उच्च प्राथमिकतामा राख्नुपर्ने शिक्षा क्षेत्रप्रति राज्य नै उदासीन रहेको बताउँछन्। ‘शिक्षा क्षेत्र अस्तव्यस्त छ’, अध्यक्ष थापा भन्छन्, ‘तर त्यसप्रति राज्य नै उदासीन छ।’ दूरी कायम गरी थोरै विद्यार्थीलाई विद्यालयमा राखेर पठन–पाठन सञ्चालन गर्न सकिने उनको भनाइ छ। निजी तथा संस्थागत विद्यालय पनि महामारीबाट प्रताडित छन्। विद्यालय बन्द हुँदा खर्बौंको क्षति बेहोर्नुपरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका अध्यक्ष टीकाराम पुरी बताउँछन्। अनलाइन कक्षामार्फत ७० प्रतिशत विद्यार्थी विद्यालयसँग जोडिएको उनको भनाइ छ।  ‘पढाइको हिसाबले निजी क्षेत्र अगाडि छ। ७० प्रतिशत विद्यार्थी जोडिएका छन्’, उनी भन्छन्, विद्यार्थीको क्षमता बिग्रन दिएका छैनौं।’

---

रोकियो १२ को परीक्षा 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गरेको छ। बोर्डको शनिबार बसेको बैठकले कोरोना संक्रमणदर बढेको भन्दै पूर्वनिर्धारित परीक्षा स्थगनको निर्णय गरेको होे। 

उक्त परीक्षा साउन ३१ देखि हुने तय भएको थियो। अब परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना दिइने बोर्डले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो। कक्षा १२ को परीक्षाका लागि ३ लाख ७२ हजार ३ सय ४८ विद्यार्थीले फारम भरेका थिए।

अन्नपूर्ण पोष्टबाट

अन्नपूर्णपोष्टमा प्रकाशित यो लेख पढ्न यहाँ क्लिक गर्नुहोस्

No comments:

Post a Comment