पोखरा महानगरपालिकाद्वारा सञ्चालित पहिलो दिनको आधारभूत तह उत्तीर्ण परीक्षा मर्यादित रुपमा सम्पन्न - शैक्षिक संसार

अपडेट


Sunday, March 9, 2025

पोखरा महानगरपालिकाद्वारा सञ्चालित पहिलो दिनको आधारभूत तह उत्तीर्ण परीक्षा मर्यादित रुपमा सम्पन्न

 



पोखरा- २६, पोखरा महानगरपालिकाद्वारा यस वर्षदेखि आधारभूत तह उत्तीर्ण परीक्षा विगत वर्षमा विद्यार्थी अध्ययन गरेकै विद्यालयमा सञ्चालन हुने परिपाटीलाई परिवर्तन गरी परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने निर्णय गरे बमोजिम पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्त, स्वच्छ र मर्यादित रुपमा सम्पन्न गरेको छ । उक्त परीक्षामा  २१७ विद्यार्थी अनुपस्थित भएको जानकारी प्राप्त भएको छ । 

पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा आधारभूत परीक्षा सञ्चालनका लागि सबै भेक र विद्यार्थीको पहुँचलाई हेरी ३७ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । उक्त परीक्षामा १०५ सामुदायिक विद्यालयका ३८९८ र १७० संस्थागत विद्यालयका ६६१४ विद्यार्थी गरी १०५१२ जना विद्यार्थी समावेश हुने तथ्याङ्क थियो , साथै लैङ्गिक रुपमा हेर्दा छात्र ५६२८ (५३.५४%) र छात्रा ४८८४ (४६.४६%) परीक्षार्थी रहने जनाईएको थियो । 

परीक्षालाई मर्यादित बनाउन शिक्षा महाशाखा पोखराले गरेको कार्यलाई अपवाद बाहेक सम्पूर्ण अभिभावक, शिक्षाविद्, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक/प्रिन्सिपल र शिक्षकहरुले सकारात्मक कदम भनि प्रशंसा गरेको पाईन्छ । 

लामो समय शिक्षा कार्यालयमा कार्यरत रहेको बेला परीक्षाको जिम्मा लिएर अनुभव संकलन गर्दै विगत केही वर्षदेखि शिक्षा महाशाखा पोखरामा सरुवा भई परीक्षा सम्बन्धी नै कार्य गर्दै आउनु भएका वरिष्ठ शिक्षा अधिकृत सोमनाथ भण्डारीले सम्पूर्ण अभिभावकको पसिनालाई साकार बनाउन कसरी सकिन्छ भनेर चिन्तित भएको बुझिन्थ्यो , हाल दन्त मिले तिरिन काटिन्छ  भने झै महानगरपालिकाका प्रमुख धनराज आचार्य र शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य समेतको सक्रियतामा परीक्षालाई मर्यादित बनाउने कार्यको थालनी भएको छ । 

परीक्षा स्तरीय भएमा कक्षा कोठाको पढाइ पनि सुध्रिन्छ त्यसकारण कक्षा ५ को वार्षिक परीक्षा पनि महानगरले सञ्चालन गर्नु पर्ने कुरा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताउनु भयो साथै महानगर शिक्षा महाशाखाले एकरुपता कायम गर्नको लागि कक्षा १२ सम्मका त्रैमासिक र वार्षिक  ( रापबो ले सञ्चालन गर्ने बाहेक ) परीक्षाका प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालन गर्नुपर्ने देखिन्छ ।

 र अन्तमा 

पोखरा बाहेकका धेरै पालिकाहरुले २०७५ सालदेखि केन्द्र तोकेर आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन गर्दै आएको अवस्थामा पोखरा महानगरपालिकाले समेत शैक्षिक सत्र २०८१ देखि अन्य पालिकाले जस्तै अभ्यास थालनी गरेकोमा सबैले सकारात्मकरुपमा हेरेको पाईन्छ , पोखराको शैक्षिक स्तर तत्काल सुधार नहोला केही वर्षमा अवस्य सुधारका लक्षण देखिन थाल्ने छ, भन्नेमा सबै विश्वस्त रहेको पाईन्छ  ।

No comments:

Post a Comment